२०८३ असार २६
०६१४४५०००, ९८५६०३३३९१

जरिवाना वृद्धि र गणेश नेपालीको मृत्युबारे महासङको ध्यानाकर्षण , जिम्मेवार रहन महासंघको अपिल

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रमा गरिएको अत्यधिक जरिवाना वृद्धिको प्रस्ताव तथा त्यससँग जोडिएर सृजित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत चालक गणेश नेपालीले जरिवानाको विषयलाई लिएर आत्मदाहको प्रयास गर्दा उपचारका क्रममा मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
महासंघका अनुसार जनआन्दोलनपछि गठन भएको वर्तमान सरकारले परिवर्तन र सुधारका नाममा विद्यमान कानुन, ऐन तथा नियमावली संशोधन नगरी सार्वजनिक यातायात क्षेत्रमा अत्यधिक जरिवाना, बीमा प्रिमियम तथा दायित्व बढाउने निर्णय गरेको छ। यस्ता निर्णयले यातायात व्यवसायी, मजदुर, कर्मचारी तथा स्वरोजगारमा आबद्ध व्यक्तिहरू थप मारमा परेको महासंघको दाबी रहेको छ।
विज्ञप्तिमा सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार, कानुनी व्यवस्था र व्यवहारिक पक्षमा सुधार नगरी एकतर्फी रूपमा जरिवाना वृद्धि गरिएको आरोप लगाइएको छ। यस्ता निर्णयले सम्पूर्ण यातायात क्षेत्रलाई अन्योल र संकटतर्फ धकेलेको महासंघको भनाइ छ।
महासंघले त्रिपुरेश्वरमा चालक गणेश नेपालीले जरिवानाको विषयलाई लिएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको र उपचारका क्रममा उनको मृत्यु भएको घटनालाई अत्यन्त दुःखद भन्दै शोक व्यक्त गरेको छ। साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग पनि गरिएको छ।
महासचिव डकनाथ गौतम द्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित नीति तथा कानुन निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी व्यवहारिक निर्णय लिनुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन सरकार र सम्बन्धित निकायलाई जिम्मेवार भएर आवश्यक कदम चाल्न महासंघले आग्रह गरेको छ।


यस्तै महासङले असार २४ गते एक बिज्ञप्ति जारी गर्दै लामो दुरिमा चल्ने यात्रुबाहक बसहरुले राजमार्गमा यात्रु मैत्री व्यबहार नभएको भन्दै चालक सहचालकलाइ सचेत गराएको छ । बसपार्क्र बस स्टेसनहरुमा यात्रु र झोला तानातान गर्ने , सवारीसाधनका कागजात दुरुस्त नराख्ने , खाना खाने होटलहरु उपयुक्त ठाउमा नरोक्ने , बढि भाडा लिने , यात्रुलाइ गन्तब्यमा नपुर्‍याउने जस्ता कार्य नगर्न भनेको छ । महासङका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित पत्रमा अरबौ लगानी भएको यातायात क्षेत्रलाइ जोगाउन मर्यादित र व्यावसायिक हुन सरोकारवालालाई आग्रह गरिएको छ ।
स्मरणीय छ बसपार्कहरुमा बसका सहचालकहरुले बस जाने ठाउको बारेमा यात्रुलाइ सुचना दिएको भन्दै ट्राफिक प्रहरिले पक्राउ गरि मुद्दा चलाएको छ । यसले बसका सहचालक हरुलाइ परिचयपत्र लगाउन आवश्यक महसुस गराएको यात्रुहरुले सुझाव दिएकाछन ।

प्रतिक्रिया दिनुहोस्