पोखराको बाटुलेचौरमा भएको २६ औ राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बडहरवोट भजन समुह बाटुलेचौरले बाजि मार्न सफल भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ। गत बर्षको उपबिजेता बडहरबोट भजन समुहले यसबर्षको बिजेता बनेको थियो ।
शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको २६ संस्करणको प्रतियोगिता प्रतियोगितामा द्वितीय तनहुँ शुक्ला गण्डकीको महेश्वर खनाल भजन समुह, तृतीय हेम्जाको मातृकेश्वर भजन समुह र भद्रकाली खैंजडी भजन समुह गजुरी धादिङ र धर्मस्थली भजन समुह पर्स्याङले सान्त्वना स्थान प्राप्त गरेको छ ।उनीहरूले क्रमस नगद ७५ हजार र प्रमाणपत्र,५० हजार र प्रमाणपत्र, र २५/२५ हजार र प्रमाणपत्र प्रदान गरिएको प्रचार प्रसार संयोजक सञ्जय थापाले जानकारी दिए। प्रतियोगितामा तनहुँ, स्याङ्जा, धादिङ लगायतका विभिन्न जिल्लाबाट १६ टोलीले सहभागिता जनाएका थिए। सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही नगद ५ हजार र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको छ । लोकदोहोरी गायक जीवन दाहाल, तारापति सुवेदी, सरस्वती लामिछाने’सरू’ र प्रेमराज अधिकारीले मुल्यांकन गरेका हुन्।नतिजाको विश्लेषण प्रेमराज अधिकारीले गरेका थिए भने घोषणा लोकदोहोरी गायक जीवन दाहालले गरेका थिए।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले पोखरा प्राकृतिक, सांस्कृतिक र कलाले भरिपूर्ण शहर भएको बताउँदै, कला, साहित्य र संस्कृतिको कुनै सिमा नहुने बताए। उनले यस किसिमका संस्कृति संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो। यस किसिमका कार्यका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालय जहिले पनि सहयोग गर्न तयार रहेको मन्त्री थापाले स्पष्ट पारे । त्यस अवसरमा मन्त्री थापाले आफ्नो तर्फबाट १६ नम्वर वडाको विकासमा गरेको फेहरिस्त समेत सुनाएका थिए। उनले कार्यक्रम सन्चालनको लागि मन्त्रालयले राम्रो सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए ।
प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाँले प्रतिष्ठानले हालसम्म गरेका कार्य र उद्देश्यका बारेमा जानकारी गराउँदै, साहित्य, कला र संस्कृति बुझेको व्यक्तिले मात्र गण्डकी प्रज्ञा प्रतिष्ठान हाँक्न सक्ने बताएका थिए । मन्त्री थापाले कार्यक्रमका लागि प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न संघ संस्था र व्यक्तिलाई प्रमाणपत्र प्रदान गर्नुभयो। प्रतिस्ठानले आयोजना गरेको भजन प्रतियोगिता हजारौ धार्मिक ब्यक्तित्व र हजारौं अवलोकनकर्ताहरुको भिडले धार्मिक मेलाको रुपमा परिणत भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी’प्यासी’, संस्कृतिविद् डा जगमान गुरुङ, प्रदेश सभाका पुर्व सदस्य प्रभा कोईराला, पुर्व मेयर एवं एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वरिष्ठ लोक गायिका हरिदेवी कोईराला, सर्जक रामबहादुर कोईराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सुर्य खड्का ‘विखर्ची’, एमाले नेता तेजनारायण अधिकारी, विभिन्न वडाका जनप्रतिनिधिको सहभागिता रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गिता भट्टराई भण्डारी र संचालन सचिव रामप्रसाद पाैडेल’घर्मेली’ ले गर्नुभएको थियो। कार्यक्रम हेर्न त्यस आसपासका विभिन्न क्षेत्रबाट हजारौं दर्शक सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्