Prabhu Bank Ad

फिल्म समीक्षा: कोहिनुरको दर्शकलाई स्वेताको ‘कान्छी’

सराङकोट न्यूज
29 March, 2018 9:17 am

सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘कोहिनुर’ ब्लकबस्टर रह्यो । फिल्मलाई खासगरी अभिनेता श्रीकृष्ण श्रेष्ठको संवेदनाले तान्यो । आफैले बनाएको फिल्म ‘कोहिनुर’ श्रीकृष्णले हेर्न पाएनन् । अभिनेत्री श्वेता खड्कासँग दाम्पत्य जीवन सुरु गर्ने सुरसार गर्दागर्दै अभिनेता श्रेष्ठको निधन भयो ।

ठीक यहि बेला उनी निर्मित फिल्म ‘कोहिनुर’ हलमा लाग्यो । श्रीकृष्णको वियोगमा डुबिरहेको माहौलमा दर्शकले ‘कोहिनुर’लाई माया गरिदिए । फिल्म हेर्नेको हलमा घुँइचो लाग्यो । यो फिल्मले नेपाली फिल्म बजारको मोटामोटी आँकडा समेत देखाइदियो, सर्वाधिक कमाई गरेर ।

कोहिनुरकै निरन्तरता भनौं, अहिले हलमा ‘कान्छी’ लागेको छ । श्वेताश्री फाउन्डेसनमार्फत सामाजिक सेवाको काम गरिरहेकी अभिनेत्री स्वेता खड्काले फिल्म बनाएको हो ।

फिल्मले कोहिनुरको इतिहासलाई दोहोर्‍याउला ? यसै भन्न सकिने अवस्था छैन । यद्यपी यसले आम-दर्शकलाई मनोरञ्जन भने दिलाउनेछ ।

प्रेम-रोमान्सको कथा

फिल्म कुनै हिमाली पृष्टभूमिमा उभिएको लेकाली गाउँबाट सुरु हुन्छ । गाउँमा केहि युवा छन्, जो नाटक देखाएर स्थानिय अस्पतालको स्तरबृद्धि गर्न चाहन्छन् । उनीहरुको आ-आफ्नै उद्यम पनि छ ।

कान्छी (स्वेता खड्का) जमदारकी छोरी हुन्, जो अस्पतालमा नर्सको काम गर्छिन् । स्थानिय युवा हीरा (दयाहाङ राई) दुध डेरी चलाएर बसेका छन् । उनीहरुबीच अव्यक्त प्रेम छ ।

श्वेताकी बुवा चाहन्छन्, छोरीले अमेरिकामा डलर कमाउने ज्वाईसँग बिहे गरोस् । यसको चाँजोपाजो पनि मिलाइरहेका छन् । यता हीराको प्रेम-आशक्ति भने बढ्दै गएको । अर्कोतिर बैदेशिक रोजगारीबाट फर्किएका उरेन्ठेउले तन्नेरी पनि उनीहरुको प्रेममा भाँजो हाल्न आइपुग्छन् ।

नाटक देखाएरै युवाहरुले शहरबाट डाक्टर (प्रज्वल सुजल गिरी) ल्याउँछन् । तर, डाक्टर अनायसै कान्छीलाई प्रेम गर्न पुग्छन् । यो कुरा हिराले थाहा पाउँछ । अब के कान्छीले कसलाई आफ्नो बनाउँछे ? यस्तै जिज्ञासाले तान्दै फिल्म टुगिंन्छ ।

कस्तो छ फिल्म ?

नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ ।’ बर्तमानमा आइरहेको नेपाली फिल्महरुको तुलनामा ‘कान्छी’ केहि हदसम्म रमाइलो छ । घटनाक्रम र दृश्यको संयोजन स्वभाविक छ । संवाद रुचिकर छ  ।

खासै तामझाम बिना नै प्रदर्शनमा आएको फिल्ममा ति सबै गुण छन्, जो मसला फिल्ममा हुनेगर्छ । फिल्ममा रोमान्स छ । कमेडी छ । एक्सन छ । भावुकता छ । विद्रोह छ ।

कथा प्रेमको हो । यस्तो कथा यसअघि पनि नसुनिएको वा नदेखिएको होइन । यद्यपी कथाको प्रवाहसँगै आउने रोमाञ्चकता, हाँसो-ठट्टा, भावुकताले दर्शकलाई उथलपुथल बनाइरहन्छ । फिल्ममा दयाहाङ राईले आफ्नो अभिनयलाई खस्कन दिएको छैन । उनको अभिनय स्वभाविक र जीवन्त लाग्छ । । उनकै सहपाठी बनेका हर्कबहादुर परियार (अशान्त शर्मा) र मधेसी मुलका इलेक्टि्रशियन (कामेश्वर चौरासिया)ले फिल्ममा चटनीको काम गर्छ । उनीहरुको प्रस्तुती तिख्खर स्वादको छ । स्वेताको अभिनय ठिकठाक मात्र छ ।

फिल्ममा लेकको ग्रामिण परिवेश एवं दृश्य जोडदार छ । तर, एकाध दृश्य खासगरी द्वन्द्वको, मा क्यामेरा बढी नै चलाइएको छ । पर्दामा ति दृश्यहरु धेरै नै अस्पष्ट लाग्छ । समग्रमा भने सिनेम्याटोग्राफी ‘वाह’ भन्ने खालको छ । निर्देशक आकाश अधिकारीले फिल्ममा संवेदना पस्किने जोड गरेका छन् । यस क्रममा कतिपय घटनाक्रम फितलो बनेको छ ।

फिल्मको कथानक, परिवेश, पात्र र उनीहरुको लवज एवं गेटअपमा उस्तो तालमेल मिलेको छैन । ‘संवेदना’ पस्किने हतारोमा जे-जति घटनाक्रम घटाइन्छ, जो तर्कसंगत र स्वभाविक लाग्दैन । यी कमजोरीहरुलाई छाड्ने हो भने चाहि फिल्म नराम्रो छैन ।

‘कान्छी’ समग्रमा मनोरञ्जनको प्याकेज हो । गीत-संगीतमा रमाउने, प्रेमिल कथा रुचाउनेहरुलाई फिल्मले २ घण्टा २५ मिनेट बाँधेर राख्छ । यसबीचमा कहिले हसाउँछ, कहिले रुवाउँछ ।

प्रतिक्रिया दिनुहोस्: