पद्म नर्सिङ होमको विवाद चर्किदै, पद्म नर्सिङ कलेजको विद्यार्थी र अभिभावक अन्यौलमा

सराङकोट न्यूज
30 November, 2018 2:57 am
Advertisements

पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमको सञ्चालकहरुको विवाद मत्थर हुनुको सट्टा चर्किदै गएको छ । नदिपुरको वुद्ध हस्पिटल खरिद गरी मर्ज गरे पश्चात सुरु भएको शेयर स्वामित्व विवाद सँग सँगै विभिन्न विवादहरु सिर्जना भएका छन् ।
नर्सिङ होमका अध्यक्ष डा. यज्ञमान शाक्य प्रबन्ध निर्देशक डा. विनोद तुलाचन समेतले कास्की प्रशासनमा नरेन्द्र वास्तोला विरुद्ध उजुरी दिए । नरेन्द्र वाँस्तोला उक्त नर्सिङ होमका पूर्व प्रबन्ध निर्देशक हुन् । कास्की प्रशासनमा आफू विरुद्ध उजुरी परेपछि नरेन्द्र वास्तोलाले कम्पनी रजिष्टार कार्यालय काठमाडौंमा सत्य तथ्य छानविन गरी निर्देशन जारी गरी पाउन निवेदन दिएका छन् । विवादित दुवै पक्ष विवाद समाधानमा भन्दा उजुर वाजुरमा लागेपछि पद्म नर्सिङ होम सकंटमा पर्ने खतरा बढेको छ ।

नर्सिङका विद्यार्थी पनि अन्योलमा

पद्म नर्सिङ होम विवादमा मुछिएपछि पद्म नर्सिङ कलेजमा अध्ययन गर्ने विद्यार्थीको भविष्य समेत अन्योलमा पर्न जाने भन्दै चिन्ता व्यक्त गरिएको छ । आफूले प्राक्टिकल गर्ने हस्पिटल नै विवादमा फसेपछि आफ्नो मनोवल खस्केको भन्दै कतिपय विद्यार्थी र अभिभावकले कलेज र नर्सिङ होम अलग्गिएर विवाद समाधान गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
पद्म नर्सिङ होम ५० शैयाको अस्पताल हो । कानून त उसले प्रति वर्ष २० जना भन्दा वढी विद्यार्थी भर्ना गर्न पाउँदैन तर उक्त कलेजले ४० जना विद्यार्थी भर्ना गरेको छ । कानूनले निर्दिष्ट गरे भन्दा दोव्वर विद्यार्थी भर्ना गरेर गैह्र कानूनी ढंगले कलेजले नर्सिङ प्रमाण पत्र तहको कक्षा चलाउदै आएको छ । शिक्षा मन्त्रालयको २०७१ वैशाख २३ गतेको निर्णय अनुसार नर्सिङ कलेज संचालन गर्न सय शैयाको हस्पिटल हुनुपर्ने प्रावधान तोकेको छ । नेपाल नर्सिङ काउन्सिल समेतले सय शैयाको अस्पताल हुनुपर्ने प्रावधान तोकेको छ । सरकारी निति नियम विपरित कलेज संचालन गरिंदा विद्यार्थीहरुले पर्याप्त मात्रामा प्राक्टिकल गर्न नपाउने हुँदा दक्ष जनशक्ति उत्पादन हुन नसक्ने जानकारहरु बताउँछन् ।

पद्म नर्सिङ होम राजस्वको छानविनमा

पद्म नर्सिङ होमले नियम अनुसार सरकारलाई तिर्नु पर्ने राजस्व, आयकर समेत नतिरेको र कर छलिको आशंकामा आन्तरिक राजस्व कार्यालय पोखराले पद्म नर्सिङ होमको फाइल तानेर अनुसन्धान गरिरहेको छ । करोडौं रुपैयामा खरिद गरिएको वुद्ध हस्पिटलको विवरण नवुझाएको देखि आ.व. २०७२÷७३ को अडिट रिपोर्ट र कर दाखिला नगरेको विषयमा आन्तरिक राजस्व कार्यालय पोखराले छानविन र कर, आयकर वुझाउन ताकेदा गरिरहेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव प्रसाद उप्रेतीले वताए । पद्म नर्सिङ होमले वक्यौता कर जरिवाना नवुझाए कानून वमोजिम कारवाही अगाडि वढाउने प्रमुख उप्रेतीले वताए । अडिट प्रतिवेदनमा आय कर वढि देखिएको भन्दै कर तिर्न आलटाल गरेर अर्कै अडिटर नियूक्त गरी कम नाफा देखाएर रिपोर्ट तयार गर्ने बारेमा संचालकहरुले पहल गरेको भएपनि अडिटरले नमानेको कारण कर दाखिला गरी कर चुक्ता लिन ढिला भएको सम्वद्ध समाचार श्रोतले दावी गरेको छ ।
पद्म नर्सिङ होम कर राजस्व सम्बन्धी विवादमा निसास्सिएर वसेको छ । करको दण्ड जरिवानाको मिटर दिनानुदिन वढिरेको छ । संचालकहरु वीचको झगडा र विवादले निकास पाइहाल्ने छाटाकाटा छैन । यहि चाल हुने हो भने राजस्व कार्यालयले वैंक कारोवार खाता पाता रोक्का राखेर अस्पतालको सेवा ठप्प पार्न सक्छ यस्तो कानूनी चेपुवामा परेको नर्सिङ होम सँग प्राक्टिकल सम्झौता गरेको पद्म नर्सिङ कलेज समेत संकटमा फस्न सक्ने अवस्था नआउँला भन्न सकिन्न ।

के भन्छन् संचालकहरु

संचालकहरुवीचको झगडाका कारण अनिर्णयको वन्दी वनेको छ पद्म नर्सिङ होम । नर्सिङ कलेज पनि प्रकृया नपुगेको र कर राजस्व विवादमा फसेको अस्पताल सँग प्रयोगातमक अभ्यासको सम्बन्धन लिएको कारण उत्तिकै विवाद र तनावमा छ । सम्बन्धन टुटाएर विकल्प खोज्ने वा हस्पिटललाई शैया थपेर विधिवत वनाउने भन्नेवारेमा कलेज र अस्पतालका संचालकहरु निस्कर्षमा पुग्न सकेका छैनन् । विद्यार्थी र अभिभावकको दवाव नर्सिङ कलेजलाई थपिएको छ । कलेजका अध्यक्ष रोश गुरुङ नर्सिङ होमको वोर्ड वैठक वोलाएर तत्काल निर्णयमा पुग्न दवाव दिदै आएको बताउँछन् । उनले भने नर्सिङ होमले ५० शैयाको अस्पताललाई १०० शैया नवनाए कलेजले विकल्प खोज्न वाध्य हुने छौं । पद्म नर्सिङ होमको वोर्डको निर्णय पर्खिरहेको गुरुङले वताए ।
यता पद्म नर्सिङ होमका संचालक मध्यका पद्म नर्सिङ होम प्रा.लि. का अध्यक्ष समेतरहेका डा. विनोद तुलाचन शेयर विवाद र कर राजस्व विवादका कारण काम काजमा वाधा पर्न गएको बताउँछन् । हस्पिटल भित्रको विवाद पछि नर्सिङ कलेजका विद्यार्थीहरु प्रयोगात्मक कक्षामा नआएको डा. तुलाचनले वताए । नर्सिङ होमको विवादका शिकार विद्यार्थीलाई वनाइनु नहुने भन्दै नर्सिङ होम र नर्सिङ कलेज वीचको सम्बन्धन अलग गर्नु उचित हुने डा. तुलाचनले वताए ।
अर्को संचालक तथा प्रबन्ध निर्देशक डा. यज्ञमान शाक्य हस्पिटलमा व्याप्त विवादले डेडलक कायम रहेको वताउँछन् । आफ्नो अस्पतालको वेड र कलेजको सम्बन्धवारे केहि थाहा नपाएको उनि वताउँछन् ।
यसो त अस्पतालबाट हटाइएका पूर्व प्रबन्ध निर्देशक नरेन्द्र वास्तोला पद्म नर्सिङ होममा स्वार्थ समूहको वोलवाला रहेको दावी गर्छन् । राज्यलाई कर छल्न नपाएपछि विभिन्न वखेडा झिकेर संस्थालाई वदनाम वनाइरहेका उनले वताए। व्यवस्थापन र प्रशासन कव्जामा लिए पनि कानून वमोजिम राज्यलाई तिर्न वुझाउनु पर्ने कर राजस्व र तत्सम्बन्धि विवरण नवुझाएको, स्वास्थ्य सेवा विभाग र कम्पनी रजिस्टार कार्यालयमा अडिट रिपोर्ट लगायतका डकुमेन्टहरु नवुझाएर संस्था माथि खेलवाड गरेको वास्तोलाले आरोप लगाए ।
पद्म नर्सिङ होम लगानी विवाद, कर राजस्व छलि विवादको दलदलमा फसेको छ । यद्दपि पद्म नर्सिङ कलेज यहि विवादित हस्पिटल सँग टाँसिएर गैह्र कानूनी ढंगवाट वढी विद्यार्थी भर्ना लिएर पठन पाठन गरिरहेको छ। विद्यार्थी र अभिभावकलाई समेत तनाव दिदै आएको कलेजले निकासको लागि सोच्न जरुरी छ। राज्यका नियमनकारी निकायको ध्यान वेलैमा त्यस तर्फ जान सकेन भने लाखौं लगानी गरेर नर्सिङ पढ्न आएका विद्यार्थीहरुको भविष्य माथि अन्यौलता वढ्ने अवस्था छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: