पोखराका औषधी पसल अनुगमनमा विभागको मिलेमतो, गैर व्यवसायी र वेदर्ताका पसल छ्याप्छ्याप्ती

सराङकोट न्यूज
17 March, 2020 3:15 pm
Advertisements

औषधी पसलहरुमा गरिने कर्मकाण्डी अनुगमनले व्यवसायिक सुदृढिकरण भन्दा गैह्र कानूनी व्यवसायीहरुलाई क्लिन चिट दिन प्रयोग हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागको अधिकार क्षेत्र भित्र रहेको औषधी पसल दर्ता संचालन अनुगमन र नियमन सम्वन्धि कार्यलाई विभागले प्रभावकारी ढंगले नियमन गर्न नसकिरहेको दृश्य ठाउँ ठाउँबाट उजागर हुँदै आएको छ ।
औषधी व्यवस्था विभागले वर्षको एक दुई पटक गर्ने अनुगमन पनि सूचना दिएर गर्ने हुँदा कानून वमोजिम नभएका औषधी पसलहरु वन्द रहने गरेका छन् । वन्द रहेका ति पसलहरु विभागको अनुगमन टोली काठमाडौं फर्किसकेपछि मात्र खुल्ने गरेका छन् भने एउटाको नाममा फर्म दर्ता गरेर गैह्र व्यवसायीलाई औषधी पसल संचालन कार्य गर्दै आएकाहरु अनुगमन टोली पोखरामा छउञ्जेल आफै पसलमा वस्ने र टोली गएपछि पुन गैह्र व्यवसायीलाई सुम्पने गरेको तथ्य फेला पर्ने गरेका छन् ।
दर्ता नगरी चलेका, गैह्र व्यवसायीले चलाएका र मापदण्ड पुरा नगरी चलाएका औषधी पसलहरुका वारेमा विभागलाई राम्रो जानकारी छ । तर पनि अनुगमनकारीहरु तिनै औषधी व्यवसायीहरु सँग मिलेमतो गरी उनकै इशारामा चल्ने गरेका छन् ।

सूचना लिक गरेर अनुगमन

औषधी व्यवस्था विभागले आफूले गोप्य अनुगमन गर्ने दावी गर्छ । अनुगमनमा स्थानिय प्रशासनलाई समेत खवर गर्दैनन् । पत्रकार, नागरिक समाजलाई अनुगमन टोलीमा लैजाने कुरा कल्पना पनि गर्न सक्दैनन् । कति अनुगमन भयो, कतिलाई के कारवाही गरियो भन्ने वारेमा समेत विभाग केहि भन्न चाहदैन । उसले किन यति गोप्य राख्छ भन्ने वारेमा हामीले सुक्ष्म निगरानी राख्दा विभागको टोलीले गरेका अनुगमनमा हुने कतिपय विषय व्यवसायीलाई छुट गर्नु पर्ने, मिलाइ दिनुपर्ने भएका कारण त्यस्तो जानकारी वाहिर जान सक्ने हुँदा अनुगमन गोप्य राख्ने निति लिएको पाइएको छ ।
औषधी व्यवस्था विभागले गर्ने औषधी पसल अनुगमन आम व्यवसायीहरुका लागि गोप्य नरहने गरेको पाइएको छ । डिडिए आउँदैछ पसल छोड्न मिल्दैन भन्ने दर्तावाला व्यवसायी र डिडिए आउँदैछ पसल खोल्न मिल्दैन भन्दै लुकेर हिड्ने पात्रहरुको रमाइलो सम्वादले डिडिएको वजार अनुुगमन र कारवाहीको वास्तविक अवस्थालाई स्पष्ट झल्काउने गरेको छ ।
विभागको अनुगमन तथा निरिक्षण महाशाखा प्रमुख उषा तण्डुकार सँग बजार अनुगमनका सम्बन्धमा जानकारी लिन खोज्दा अनुगमन गोप्य हुने विषय भएकोले जानकारी दिन नमिल्ने वताइन् । पत्रकार, स्थानिय प्रशासन कतै पनि जानकारी गराएर सूचना दिन र सहयोग लिन आनाकानी गर्ने अनुगमन टोलीले व्यवसायीलाई सूचना चुहाएर अनुगमनमा जाने गरेका छन् ।
एउटा ठाउँको अनुगमन सकिएर अर्को ठाउँमा कहाँ जाने, खाना खाजा कहाँ खाने, दारुपाटी कहाँ गर्ने वास कहाँ वस्ने सम्मका सवै सूचना र त्यसको चाँजो पाँजो औषधी व्यवसायीहरुले नै गर्दै आएको वुझिएको छ ।
यस पटकको अनुगमन फागुन २९ र ३० गते पोखरामा भएको थियो । अनुगमनमा जाने ठाउँमा गैह्र व्यवसायीले चलाएको ठाउँमा व्यवसायी आफै कुरेर वसेका थिए भने मापदण्ड, कानूनी प्रकृया नपुगेका व्यवसायीहरु पसल वन्द गरेर हिडेको भन्दै व्यवसायी वृतमै चर्चा चलेको थियो ।
फागुन ३० गते विहानको अनुगमन सकेर केहि व्यवसायी सहित साढे १० वजे जिरो किमीको न्यू ऐरा रेष्टुरेण्टमा अनुगमन टोलीले सँगै भोजन गरेको थियो ।
विभागका कर्मचारी उषा तण्डुकारले गोप्य अनुगमनमा कसैलाई थाहा नदिने वताईरहँदा अनुगमन गरिने व्यवसायीलाई कसरी कसले सूचना चुहायो भन्ने विषय रहस्यमय वनेको छ । पत्रकारलाई सूचना दिन आनाकानी गर्नेहरुबाट गरिने वजार अनुगमन कर्मकाण्डी मात्र हो कि भन्ने भन्न पर्न गएको छ । उता औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले अनुगमनको प्रतिवेदन आएपछि मात्र सूचना सार्वजनिक गरिने बताउँछन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: