महानगरको योजना अलपत्र, बजेट फ्रिज ! हतारको काम लतरपतर

सराङकोट न्यूज
20 July, 2021 5:36 pm
Advertisements

पोखरा महानगरपालिका पनि असारे विकासको चटारोमा राम्रै सँग रमाउने गरेको छ । ११ महिना सम्म घाम तापेर बस्ने अनि असार लागेपछि विकासको काम गर्न लगाउने प्रवृत्तिबाट महानगरका वडा देखि केन्द्र सम्मका निकाय संलग्न हुने गरेका छन् । यस्तै मध्यका पोखरा महानगरपालिका वडा नम्बर १ का दुई योजना पछिल्ला उदाहरण बनेका छन् ।
पोखराको हरिचोक देखि बालज्योति प्रा.वि. सम्मका नाला निर्माण योजना असारमा आएर सुरु गरियो । हतार हतार डोजर लगाउँदा स्थानीय कोही व्यक्तिहरुको छाप्रो कटेरो भत्किएको छ भने डोजरले गहिरो पारेर खनेपछि बाटोबाट घर आउनु जानु गर्न समेत समस्या परेको छ । दान प्रसाद देवकोटाको घरको अघिल्लो भाग भत्किएको छ । भाडामा बसेका कोभिडका विरामी समेतलाई उठिवास गरी डोजर लगाएर खाडल खने पनि नाला बन्ने कुनै सुरसार समेत छैन । ढिला काम सुरु गरिएका कारण योजनाको बजेट समेत फ्रिज भएको छ । बजेट अभाव भएका कारण गहिरो खनिएको खाडल धराप बन्न पुगेको छ । अझै कति महिनामा नयाँ बजेट आउने हो भन्ने बारेमा यकिन हुन सकेको छैन । विकासका लागि समयमै पहल नगर्ने गर्दा विकासमा गुणस्तर कायम हुने कुरामा शंका उब्जाएको छ । कास्की क्षेत्र नं. ३ का संघीय सांसद जगत विश्वकर्मा मार्फत प्राप्त भएको सांसद विकास कोषको १९ लाख ८६ हजार र जनसहभागिताको ८ लाख ५४ हजार गरी २८ लाख ४० हजार रुपैयामा हरिचोकको छवि चापागाईको घर मुखदेखि साविका बालज्योति प्रा.वि. गेट सम्म पक्का नाला निर्माण गर्ने योजना बनेको देखिन्छ । उक्त योजना गत वर्षकै कार्यक्रम भएपनि त्यसको प्रभावकारी कार्यान्वयन समयमा हुन नसकेका कारण उक्त योजना असारमा आएर हतार हतार गरिएको थियो।

रोजी पराजुलीको अध्यक्षतामा गठित निर्माण उपभोक्ता समितिले असार २८ गते योजना सम्पन्न भएको सामाजिक लेखा परिक्षण विवरण पत्रिकामा प्रकाशन गरेको पाइयो । योजना स्थल खण्डहरु खाडल रहेको स्पष्ट देखिएको अवस्थामा योजना नै सम्पन्न भएको जनाइएको छ । वडा नं. १ कै ई.ज्योती थापाले साढे ५ लाखको मात्र काम भएको भन्दै प्रतिवेदन दिएको बताएकी छिन् तर योजना भने पूर्णतया अलपत्र छ जुन कुरा स्थलमै अझै गए पनि स्पष्ट देख्न सकिन्छ । सांसद विकास कोषको रकमका योजनाहरु पनि स्थानिय सरकार मार्फत नै चल्ने गर्छन् । विकास योजना दिनेहरु र योजना कार्यान्वयन गर्नेहरुको मनोमानीले हद् नाघेको छ । समयमै टेण्डर लगाएर काम गर्न सके पारदर्शी हुन्छ तर आफू अनुकूलका मान्छेहरु भेला पारेर बनाइने उपभोक्ता समितिले गर्ने काममा केहि न केहि खोट भेटिने गरेको छ । अझ कतिपय ठाउँमा त जनसहभागिताका नाटक रचिन्छ तर उठाइन्न यद्यपि काम भने उपभोक्ता समितिलाई नै दिइन्छ ।
यस्तै पोखरा १, कसेरीको खेल मैदान निर्माण योजना आर्थिक वर्ष सकियो तर काम आधा पनि भएको छैन । तर सव इन्जिनियर दिपा चापागाईले योजना सम्पन्न भएको भन्दै भुक्तानी प्रकृयामा गईसकेको बताउँछिन् । कुन शिर्षकबाट कागज मिलाएर भुक्तानी दिने होलान् त्यो भने हेर्न बाँकी छ । कानूनले त्यस्ता योजनाको बजेटमा अब चेक काट्न मिल्दैन तर सेटिङ कसरी मिल्छ त्यो पनि भविष्यमा थाहा हुनेछ।

योजना स्थलको ग्रवेल क्रसर उद्योगमा सप्लाइ

नाला निर्माणको क्रममा जेसीमीले उत्खनन् गरेको ग्रेवल र माटो क्रसर उद्योगमा सप्लाई गरिएको पाइएको छ । स्थानिय प्रत्यक्षदर्शीका अनुसार जेसिवीले लगातार तीन दिनसम्म खनेको ग्रेवल र माटो ट्रिपरमा लोड गर्दै लगिएको वताएका छन् । नाला खन्न हेम्जा स्थित जेके क्रसरको मेसिन प्रयोग गरिएको थियो नालाको लागि ४ देखि ९ फिट सम्मका वढेमानका खाडल खनिएका छन् । खनिएको खाडलको भित्तामा हेर्दा त्यहाँ ग्रेवल अधिक मात्रामा रहेको पाइन्छ । क्रसरलाई चाहिने कच्चा पदार्थ मध्य ग्रेवल अव्वल मानिन्छ । प्रसोधन र ग्रेडिङ पश्चात प्रति घ.मि. तीन हजार रुपैयाँमा वजारमा विक्री हुने जानकारहरु बताउँछन् ।
हरिचोक देखि वडा प्रहरी कार्यालय हुँदै वाल ज्योती प्रा.वि. सम्म खनिएको खाडलबाट करिव सय ट्रिपर ग्रेवल क्रसर उद्योगमा लगिएको अनुमान गरिएको छ । वडा नं. १ कार्यालयका प्राविधिक इ ज्योती थापालाई खाडल अनुसार मेटेरियल वारे वताउन आग्रह गरिएको भएपनि इ थापाले यो समाचार तयार पर्दा सम्म परिमाण विवरण वताएकी छैनन् ।
पोखरा महानगर पालिकाका राजस्व महाशाखा प्रमुख गणेश पाण्डेले सार्वजनिक योजना निर्माण स्थल बाट उत्खनन् गरिएका माल वस्तु वाहिर निकासी गर्न नमिल्ने वताउँछन् । वाहिर लानु पर्ने अवस्था आएमा प्रति घनमिटर ३ सय रुपैयाँका दरले रोयल्टी दस्तुर तिरेर अनुमती लिनुपर्ने कानुनी प्रावधान रहेको पाण्डेले वताए ।
वार्ड नं. १ का अध्यक्ष शारदा कुमारी पराजुली स्वयम् योजना अनुगमन समितिको संयोजक हुन् । आफैले अनुगमन गर्नु पर्ने योजनाको संयौं घनमिटर ग्रवेल र माटो क्रसर उद्योग सम्म निकासी भएको घटनाले मिलेमतो हो कि भन्ने शंका उव्जाएको छ । जेके क्रसरका संचालक मध्यका एक सन्दीप शर्माले नालाबाट उत्खनन् भएको भेटेरियल हेम्जा स्थित क्रसरमा लगेर डम्पिङ गरिएको स्वीकार गरेका छन् । यस्तो विवाद आउँछ भन्ने नलागेर करिव ३० ट्रिपर ग्रेवल लगिएको सन्दिप ले टेलिफोन संवादमा वताएका हुन् । योजनालाई जिर्ण बनाएपनि क्रसर संचालकले भने फाइदा उठाएका भन्ने सक्ने कुरा खुल्न आएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: