आँखा अस्पतालकै क्यान्टिनमा सडेको पाउरोटी

सराङकोट न्यूज
3 August, 2021 12:59 pm
Advertisements

हिमालय आँखा अस्पताल पोखराको क्यान्टिनमा सडेको पाउरोटी बिक्रीका लागि राखिएको फेला परेको छ । साउन १२ गते अस्पताल आएका सेवाग्राही सराङकोट पत्रिका टिमले चिया नास्ता खाने क्रममा आँखा अस्पताल परिसरमा रहेको क्यान्टिनमा सडेको वन (भक्कु पाउरोटी) दिइएको थियो । वनको दुवै पट्टि हरियो ढुसी पलाएको थियो । अस्पतालकै क्यान्टिनमा यस्तो ढुसी लागि सकेको खानेकुरा किन बेच्न राख्नुभएको भन्ने हाम्रो जिज्ञासामा क्यान्टिनका सञ्चालकले कम्पनीले म्याद कायम भएको लेवल राखेर ल्याएकोले बिक्रीका लागि राखेको बताए । लेवलमा म्याद कायम भएको सडेको पाउरोटी ल्याउनु उत्पादकको कमजोरी रहेको क्यान्टिन सञ्चालकले बताए ।
जापानी बेकरी इन्डस्ट्रिज अमरसिंहचोकबाट उत्पादित “वन”को प्याकेटमा रहेको लेवलमा उपभोग्य मिति भने कायम रहेको पाइएको छ । श्रावण १२ गते हामीले फेला पारेको उक्त ब्रेड (वन) मा उत्पादन मिति श्रावण ६ गते जुलाई २१ उल्लेख गरिएको छ । ७ दिन पछि उपभोग्य मिति समाप्त हुने लेखिएको उक्त लेवलको म्याद हामीले फेला पारेको दिन सम्म कायम देखिन्छ । उत्पादन भएको ७ दिन सम्म खान योग्य भनिएपनि तोकिएको अवधि भित्रै वन सडेको अवस्थामा भेटिएको घटनाले चरम लापरवाही देखिएको छ ।
उत्पादकले म्याद कायम रहेको नयाँ लेवल पुरानो ब्रेडको पाकेटभित्र हालेको हो या ७ दिनमै ब्रेड (वन) सडेको हो भन्ने खुल्न सकेको छैन । यस बारेमा ब्रेड उत्पादक कम्पनी जापानी बेकरी इन्डष्ट्रिजका सञ्चालक सँग सम्पर्क गर्दा सञ्चालक सम्पर्कमा आउन चाहेनन् । बे्रडमा राखिएको लेवलमा उत्पादक कम्पनीले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा गरेको देखिदैन । लेवलमा उत्पादित कम्पनीको उद्योग दर्ता नम्बर, उद्योगको सम्पर्क गर्ने नम्बर उल्लेख गरिएको छैन । उपभोक्ताले आफूले खाने खाद्य वस्तुको बारेमा पूरा जानकारी लिने अधिकार राख्न सक्छ तर दर्ता नम्बर र सम्पर्क नम्बर समेत नराखी उत्पादित वस्तु बजारमा पठाइएको प्रति राज्यको अनुगमन संयन्त्र कमजोर भएको मौकामा सडेगलेका खाद्य वस्तु बिक्री गर्नेको मनोबल बढेको सहजै बुझ्न सकिन्छ ।
सडेगलेको खाद्य वस्तु बजारमा भेटिएपछि उत्पादक कम्पनीका सञ्चालकको प्रतिक्रिया सहित आफ्नो धारणा राख्न पटक पटक टेलिफोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।
यस बारेमा खाद्य निरीक्षण शिवजी बराल कुनै पनि खाद्य उत्पादक कम्पनीले घरेलु उद्योगको दर्ता नम्बर अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्था रहेको औल्याउँछन् । गर्मी याममा ७ दिन लामो उपभोग्य मिति राख्नु उचित नभएको पनि निरीक्षक बरालले बताए । जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने कार्य भए गरिएको पाइए कानून बमोजिम कारबाही गरिने शिवजी बरालले बताएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: