सन्दर्भ सामाग्री : “हरिशयनी हरिबोधिनी एकादशीको महिना”

सराङकोट न्यूज
20 July, 2021 6:45 pm
Advertisements

अधिवक्ता शिव प्रसाद गौतम

आज २०७८ साल श्रावण ५ गते हरिशयनी एकादशी व्रत तुलसी रोपण दिवस होे । आजको दिनको धार्मिक महत्व ठूलो छ । आजबाट चतुरमास व्रतारम्भ हुन्छ । हरिशयनी देखि हरिबोधिनी एकादशी सम्मको चार महिनाको समयलाई चतुरमास भनिन्छ। चतुरमास व्रतको प्रारम्भ भएर भगवान् विष्णु हरि चार महिनासम्म सुत्ने हुनाले यसलाई चतुरमास भनिएको हो । आज आषाढ शुक्ल एकादशी पनि हुन् । हरेक महिनाको शुक्ल र कृष्ण पक्षको एघारौं तिथि, दशमी पछिको तिथि एकादशी हुन्।
धर्मशास्त्रमा वाणित तीन मुख्य भगवान्हरु छन् ।
१) ब्रह्मा – जगतका सृष्टिकर्ता हुनुहुन्छ ।
(२) विष्णु– पालनकर्ता प्राणीहरुको रक्षा गर्ने भगवान्को रुपमा मानिनु हुन्छ।
(३) शिव– नकारात्मक प्रवृत्तिको अन्त्य गरी भक्तहरुलाई शान्ति दिलाउने गरी तीनै भगवान्हरुको कार्य विभाजन भएको छ । एकले अर्काको कार्यमा दखल नगर्ने आ–आफ्नो काम गर्ने भगवान् त्रयको स्वभाव छ । चतुरमासमा भगवान् विष्णु आरामका लागि शेष नागको शायनमा सुत्नुहुन्छ । भगवती लक्ष्मी उहाँको देखभाल र सेवाका निम्ति पाउ दापेर बस्नु हुन्छ ।
आजकै दिन भगवान् विष्णुका श्रद्धालु भक्तजनहरुले घर÷घरमा तुलसी रोप्दछन््। तुलसी हिन्दु वैष्णवहरु द्वारा पवित्र मानिएको एक वनस्पति हो । यो घरमा रोप्नाले किरा फट्याङ्ग्रा सर्पादीको भय हुँदैन । तुलसी औषधीको रुपमा प्रयोग पनि हुन्छ । तुलसी पातलाई चियापत्तीको रुपमा प्रयोग गरेर खाने गरिन्छ । यसलाई तुलसी चिया भनिन्छ। प्रायः महात्मा र धर्मावलम्वीहरु तुलसी चिया पिउँछन् । यो चिया स्वास्थ्यका लागि अति उपयुक्त हुन्छ । प्रायः धर्ममा आस्था राख्ने सनातनीहरुले आफ्नो घरको पूर्व दिशामा राम्रो मठ बनाएर तुलसी रोप्दछन् । यसलाई तुलसी मठ भनिन्छ । तुलसीलाई बन्दा–विष्णुद्वारा सतित्व नस्ट गरिएकी जालन्धरकी पत्नी हुन् । उनकै श्रापले गर्दा विष्णु भगवान्लाई तुलसी हुनु परेको कुरा स्वस्थानीमा वर्णन गरिएको छ । कृष्णा भनेको काला पात हुने तुलसी हुन् । तुलसी धार्मिक कार्यहरुमा भगवान्लाई चढाइन्छ । मृत्यु संस्कारमा पनि तुलसी डाठ प्रयोग गरिन्छ ।
बाह्र महिनामा प्रत्येक महिनामा दुई एकादशी पर्ने हुनाले विभिन्न नामका चौविस एकादशी एक महिनामा पर्छन्। ती मध्ये हरिशयनी र हरिबोधिनी एकादशीको विशेष महत्व छ । यी दुई एकादशीको बीचको समयलाई चतुरमास भनिन्छ । आषाढ शुक्ल एकादशी देखि कार्तिक शुक्ल एकादशी सम्मको चार महिना, चौमास हो । यी महिनाहरुमा गरिने विभिन्न धार्मिक कार्यहरुलाई चतुरमास व्रत पनि भनिन्छ । भगवान् विष्णुका भक्तजनहरुले आ–आफ्नो घरमा र धार्मिक संस्थाहरुबाट मन्दिरमा चतुरमास पुराण लगाउने चलन छ । पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको गीता मन्दिरमा स्थापना कालदेखि चातुरमास लगाउने प्रचलन भएकोमा कोरोना भाइरस कोभिड–१९ रोगको महामारीले गर्दा बाह्य भक्तजनको जमघट नगराई एक जना कर्ता र धर्मशाला रहेका भक्तहरु २÷३ जना त्यो पनि भौतिक दुरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गरी पण्डित केदार लम्सालज्यू बाट केवल कार्यक्रमलाई निरन्तरता दिन मात्र चातुरमास पुराण भन्ने कार्यक्रम रहेको छ ।
सृष्टि, स्थिति, लय आदिका साथै प्राचीन ऋषि, मन्वन्तर राजवंश आदिका र देवी देवताका तीर्थ आदिका महात्म्यको समेत वर्णन गरिएका प्रसिद्ध अठार हिन्दु धर्मग्रन्थमध्य कुनै एक हिन्दु समाजमा परम्परादेखि चलिआएका मनुष्य देवता, दानव आदिका कथा सृष्टि र सृष्टिदेखि भएका घटनाको सविस्तार वर्णनलाई पुराण भनिन्छ । गीता मन्दिरमा अठार पुराण मध्य एउटा पुराण र एकादशीका दिन एकादशी महात्म्य वाचन गरेर श्रद्धालु भक्तजनहरुलाई श्रवण गर्ने अवसर दिलाइन्छ । महिमा, गुणनुवाद, गुनगान, बखान । कुनै इष्टदेव वा दिव्य विभूतिका महत्वको वर्णन महात्म्य हो ।
यो सालको हरिबोधिनी एकाशी कार्तिक शुक्ल पक्ष कार्तिक महिनाको २९ गते परेको छ । यो दिनमा तुलसी विवाह पनि हुन्छ । यो दिनलाई फूल तार्ने एकादशी पनि भनिन्छ । चतुरमास समाप्त भएर देवोत्थान हुने एकादशी कार्तिक शुक्ल एकादशी हो । यही दिन भगवान् विष्णु शयनबाट जाग्राम होइवक्सन्छ । चतुरमास व्रत बस्न कठिन छ । कर्ताले चार महिनासम्म फलाहा र निलाहाार बसेर पूजा गर्नुपर्छ । उनीहरु उपवास बस्नुपर्छ । दिनभर वा अहोराम भोजन नगर्ने काम, केहि पनि नखाइ व्रत बस्ने काम, निराहार बस्नु उपवास हो । अहिलेका प्रायः मानिसहरुलाई उपवास भनेको के हो थाहा छैन । राजनीति गर्नेहरुले अनसन बस्न जानेका छन् । पिर मर्का वा अन्याय अत्याचारका विरुद्ध असन्तोष व्यक्त गर्ने उद्देश्यले वा कुनै माग पूरा नहुन्जेल पूर्व सूचनाका साथै गरिने आहार त्याग अनशन हो । यो भने देशमा खुब हुन्छ ।
अहिले त कोरोना भाइरस कोभिड–१९ को विश्वव्यापी संक्रमणले गर्दा यसको नियन्त्रणका लागि सरकारले लकडाउन गरेका अवस्थामा मानव जमघट कार्यक्रमको अन्त्य गरेको छ । मठ मन्दिरमा पूजा गर्ने काम पनि बन्द नै छ । पूजारी छिप्पुर मन्दिरमा पुजारीबाट सामान्य पूजा संचालन माग होइन मन्दिर पनि प्रायः बन्द भएको अवस्था छ ।
चतुरमासमा नै प्रायः सबै चाडपर्वहरु पर्दछन् । श्रावण महिनामा झन् शिवको महिना हो । साउनको प्रत्येक सोमबार शिव भगवान् उपर श्रद्धा भक्ति राख्ने श्रद्धालु भक्तजनको पूजाका लागि भिड नै लाग्थ्यो । यो पनि रोकिएको छ । हरिबोधिनी एकादशीका दिन श्रद्धालु भक्तजनले भजन किर्तन सहित फूलको डोली, फूलको माला, फूलको तोरण लिएर पवित्र नदीमा फूलको डोली बगाउने, पोखराको महेन्द्रपुलमा तोरण टाँस्ने गरिन्छ । सुन्तला व्यापारीले सुन्तलाको व्यापार पनि गर्छन्।
हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशी सम्मको समय धार्मिक कार्य गर्ने समय हो । हरिशयनी एकादशीको दिन तुलसी रोपेर र हरिबोधिनी एकादशीका दिन फूल तारेर र तुलसी विवाह कार्य क्रम श्रद्धाभक्ति पूर्वक सम्पन्न गरिन्छ । भक्तजनहरुले जीवन सार्थक बनाउँछन् । ॐ श्रा परमात्मनं नयं ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: